भारतले ल्याइदियो जहाजमा दोस्रो खेप राहत, औषधि, त्रिपाल, स्लीपिङ्ग ब्याग, कम्बलसहित ९ टन सामान

काठमाडौं । भारतले भूकम्प प्रभावित परिवारहरूका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप नेपालगञ्जमा ल्याइदिएको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार साँझ अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बलसहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्‍याएको हो ।

राहत सामग्रीको हस्तान्तरण कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको ११ टनभन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कात्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

जाजरकोटको भूकम्पले निम्त्याएको यो मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न भारत तयार रहेको जनाएको छ ।

Published : Monday, 2023 November 6, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया