काठमाडौंमा चार जना पक्राउ, कारबाहीका लागि महाराजगञ्ज पठाइयो

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट नक्कली कागजात बनाउने चार जनाको समूहलाई पक्राउ गरेको छ ।

भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सानचोक गाउँपालिका–८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यानको कालीमाटी रामपुर गाउँपालिका–३ घर भई काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका छन् ।

भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानका लागि पठाएको छ ।

अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टी हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरू, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, होलो ग्राम, स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजी कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ ।

उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

Published : Monday, 2023 November 6, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया