भूकम्पका बेला लुम्बिनी कांग्रेस निदायो, भण्डारीद्वारा ब्यूझाउने प्रयास

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशलाई भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न सुझाव आएको छ ।

लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य मोती भण्डारीले भूकम्पपीडितहरूलाई आर्थिक सहयोग गर्न आफू तयार रहेको बताए ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले विभिन्न व्यक्तिहरूसँग लुम्बिनी कांग्रेसको नेतृत्वले रकम उठाएको भन्दै सो रकमबाट थोरै भए पनि भूकम्प प्रभावितहरूलाई दिन आग्रह गरेका छन् ।

उनले आर्थिक सहयोग गर्नका लागि लुम्बिनी कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।

भण्डारीले भने, ‘नेपाली कांग्रेस लुम्बिनी प्रदेशबाट भूकम्प पीडितलाई रू. शून्य सहयोग ? पैसा उठाउने अनि आफू र सीमित मान्छेको रजगज चलाए पनि केहि सीमित रकम त भूकम्पपीडितलाई सहयोग गरे हुने ? म पनि सक्दो सहयोग गर्न तयार छु !’

लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले भूकम्प प्रभावितहरूलाई आर्थिक सहयोग गर्ने विषयमा अहिलेसम्म बैठक राखेर छलफल चलाएका छैनन् । पुनले सहयोग गर्ने विषयमा ध्यान नदिएपछि भण्डारीले भूकम्पका बेला निदाएको लुम्बिनी कांग्रेसलाई ब्यूँझाउने प्रयास गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले ५० लाख दिने निणर्य गरिसकेको छ । प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ । कोषमा रकम पनि संकलन गरिरहेको छ ।

लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक सहयोग र औषधिसहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । चौधरीले आफ्नोतर्फबाट सहयोगमा तदारुकता देखाएका छन् । तर, लुम्बिनी कांग्रेस निकम्मा बनेर बसेको छ ।

Published : Monday, 2023 November 6, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया