भारतले दु:खमा साथ दियो, विषेश जहाजमा ल्याइदियो नेपालगञ्जसम्मै १६ करोडको ११ टन राहत सामग्री
काठमाडौं । भारतले नेपाल सरकारलाई भूकम्पका राहत सामग्री हस्तान्तरण गरेको छ ।
जाजरकोटमा केन्द्र विन्दु भएर गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप आइतबार भारतीय रुपैयाँ १० करोड (नेपाली रुपियाँ १६ करोड) बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ ।
भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको भारतीय राजदूतावास लैनचौरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बलर स्लीपिङ्गब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन् ।
भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।
आगामी दिनमा राहत सामग्रीका थप खेपहरू नेपाल आइपुग्ने भारतीय दूतावासले जनाएको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरूलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाएको छ ।
छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडि रहेको विज्ञप्तिमा उल्लेख छ ।
२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो ।
भारतले बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो ।
भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो ।
गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरूको पुनर्निर्माण कार्य समावेश थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया