अहँकार र दम्भका कारण एमालेलाई ठूलो नोक्सानी

काठमाडौं । आफ्नै अहँकार र दम्भका कारण नेकपा (एमाले)ले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

शनिबार बिहान बिराटनगरमा मुख्यमन्त्री केदार कार्कीसमक्ष एमालेबाट मन्त्री बनेका रामबहादुर रानाले राजीनामा बुझाएका छन् । रानाको राजीनामा सँगै एमालेले सत्ताभन्दा बाहिर पुगेको छ ।

एमालेले कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र खेल्न खोजेको थियो । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सत्ता गठबन्धनलाई भत्काउन कांग्रेसको एउटा समूहलाई उचालेर मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले एमाले सरकारबाट बाहिरिएको बताएका छन् । राईले भने, ‘सरकारबाट एमाले बाहिरिएको छ । मन्त्री रामबहादुर रानाले राजीनामा बुझाउनुभएको छ ।’

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई मन्त्री बनाएपछि आगो बनेको एमाले सरकारबाट बाहिरिएको छ ।

कार्कीले माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा सदस्य कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।

एमालेले माओवादीसहितका दलहरूलाई कोशी प्रदेशको सरकारमा सहभागी गराउन नहुने अडान राख्दै आएको थियो ।

मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउने प्रयास स्वरुप गठबन्धनका दलहरूलाई पनि मन्त्री पदको शपथ गराएका छन् ।

एमालेको अहँकार र दादागिरिले गर्दा केन्द्र सरकार पनि गुमाएको छ । उता, कोशी प्रदेश सरकार पनि गुमाएको छ । आफैले केन्द्र सरकार र कोशी प्रदेश सरकार बनाएको एमालेको दम्भले उसलाई नै हानी भएको छ ।

Published : Saturday, 2023 November 4, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया