तीस प्रहरीलाई हेभी सवारी चालक तालिम

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महाशाखामा संचालित हेभी सवारी चालक तालिम १४औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्रलाल कर्णले प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरेका छन् ।

प्रहरी उपरीक्षक कर्णले संगठनको आवश्यकता अनुसार भित्रिएका नवीनतम प्रविधिका विभिन्न किसिमका हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताए ।

प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई आ–आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले बताएका छन् ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै असोज ४ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थी सहभागी रहेको बताए ।

Published : Thursday, 2023 November 2, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया