कांग्रेसले कर्णालीमा जागरण अभियान सञ्चालन गर्ने

वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कर्णाली प्रदेशका जिल्लाहरूमा ‘जागरण अभियान’ सञ्चालन गर्ने जनाएको छ ।
बिहीबार सल्यानको खलङ्गामा बसेको प्रदेश कार्यसमितिको बैठकले कर्णालीका जिल्लाहरूमा ‘जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको कर्णाली प्रदेश कांग्रेसका सभापति ललितजंग शाहीले बताएका छन् ।
कांग्रेसले कर्णालीमा कांग्रेसलाई सुदृढ र बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गर्ने लागेको छ ।
सभापति शाहीले भने, ‘कर्णाली प्रदेशका सबै जिल्लामा कांग्रेसलाई बलियो बनाउन सुदृढ कांग्रेस, समृद्ध कर्णाली भन्ने मूल नाराका साथ जागरण अभियान चलाइनेछ ।’
कांग्रेसको संगठनलाई चलायमान बनाउन तथा नेता, कार्यकर्ता भेटघाटका लागि पनि जागरण अभियोन गर्न लागिएको शाहीले बताए ।
मातहतका कार्य समितिका बैठक बस्ने, अग्रज नेताहरूसँग भेट्ने, निर्वाचित जनप्रतिनिधिहरूलाई नागरिकको पक्षमा काम गर्न प्रेरित गर्ने काम अभियानका क्रममा हुनेछन् ।
भ्रष्टाचार मुक्त समाज निर्माण गर्न नेता, कार्यकर्तालाई परिचालन गरिने सभापति शाहीले बताएका छन् । कांग्रेसले गरेका जनमुखी कामहरू पनि कर्णालीका जनतालाई बुझाउने काम अभियानको क्रममा हुनेछ ।
कांग्रेसका सबै भ्रातृ र शुभेच्छुक संस्थालाई प्रदेशभर परिचालित हुन् निर्देशन समेत दिइएको छ । पदाधिकारीको बैठकले अभियानको मिति र कार्यक्रम तय गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया