लागुऔषधसहित उदयपुर र बाराबाट पाँच जना केटाहरू पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१० गैरुनकाली खोलाको नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २७ ग्राम, डिजिटल तराजु १ थान र नगद १ लाख ५४ हजार रूपियाँसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य सुपौल भीमनगर थाना–८ बस्ने २७ वर्षीय जसबिनकुमार मण्डल र बीरपुर थाना–१२ बस्ने २७ वर्षीय सन्तोषकुमार महतो रहेका छन् ।
खोला नजिक रोकी राखेको बीआर ११ पीबी १३५५ नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गियर बक्सभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
बाराको निजगढ नगरपालिका–९ भवरा पुलबाट अवैध लागूऔषध गाँजा ५ केजीसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा छिरेश्वर नगरपालिका–५ बस्ने ४० वर्षीय शिवकुमार महत्तो, रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ बस्ने ४३ वर्षीय प्रेमकुमार श्रेष्ठ र देबदह नगरपालिका–७ बस्ने ४२ वर्षीय विजयकुमार थापा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले लु.१ ख ८८५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शिवकुमार, बस चालक प्रेमकुमार र सह–चालक विजय कुमारलाई गाँजासहित पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया