सशस्त्र प्रहरीद्वारा धनुषा र रौतहटमा भन्सार छलीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले धनुषा र रौतहट जिल्लामा लाखौँ रुपियाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरेको छ ।

धनुषाको मिथिला नगरपालिका १० स्थित बडहरीबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार सुरक्षा बेश जनकपुरले विशेष सूचनाको आधारमा अबैध रुपमा गोदाममा स्टोर गरी राखिएको अवस्थामा २ हजार ९ सय ६० वटा मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरिएको जनाएको छ ।

यता, रौतहटको राजपुर नगरपालिका २ फतुहाबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपियाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले बीआर ०५ एल ३५९० नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बिल बिजक फेला नपरेपछि नं. ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।

यमुनामाई गाउँपालिका ४ बमनहर ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीब १ लाख ३२ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बिलबिजक नभएको ती लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फतुहाले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

Published : Wednesday, 2023 November 1, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया