सभापति देउवासँग महासचिव गुटेरेसद्वारा भेट, शान्ति प्रक्रिया र जलवायुको असरबारे परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भेटवार्ता गरेका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सभापति देउवासँग महासचिव गुटेरेसले भेट गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरूमा परामर्श गरेका हुन् । देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पारित गर्ने गरेर तयारी भइरहेको गुटेरेससँग कुराकानी गरेका छन् ।

देउवासँग गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा चासो राखेका छन् ।

सभापति देउवा र महासचिव गुटेरेससँगको भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेसका उप–सभापति धनराज गुरुङको पनि उपस्थिति रहेको थियो ।

मन्त्री गुरुङका अनुसार सभापति देउवा र महासचिव गुटेरेसबीच पिस प्रोसेसको सन्दर्भमा गरिरहेको प्रयासहरूका बारेमा छलफल भएको छ ।

‘अहिले पिस प्रोसेसलाई टुंग्याउनका लागि जुन बिल छ, टीआरसी बिल । त्यो चाहिँ संसदको पार्लियामेन्ट कमिटीमा छलफलमा छ’, मन्त्री गुरुङले भनेका छन् ।

‘हामी छिट्टै टुंग्याउँछौं । यसलाई सर्वसम्मत ढंगबाटै लिएर जान्छौं भनेर सभापतिजीले त्यो कुरा राख्नुभयो’, देउवा र गुटेरेसबीच भएको सम्वादबारे गुरुङले भनेका छन् ।

सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका छन् ।

देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देश र विश्वलाई नै समस्या पर्ने बताएका छन् ।

Published : Sunday, 2023 October 29, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया