ठमेलमा बस्दै आएका भारतीय नागरिक लुटिए, सुरक्षालाई लिएर प्रहरीमाथि प्रश्न उठ्यो

काठमाडौं । लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे मम रेष्टुरेन्टका संचालक नुवाकोटको ककनी गाउँपालिका–७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका–१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरेका थिए ।

कुटपिट गरेर उनीहरूले पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपियाँ ट्रान्सफर गरी लुटपाट गरेको अभियोग लागेको छ ।

लुटपाटको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपियाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको छ ।

दशैँका बेला काठमाडौंको शान्ति सुरक्षा कमजोर भएको आरोप लागेका बेला भारतीय नागरिकहरू माछापोखरी क्षेत्रमा लुटिएपछि काठमाडौं प्रहरीको नेतृत्वमाथि प्रश्न उठेको छ ।

Published : Sunday, 2023 October 29, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया