किराँतीको निर्णयले प्रदीपलाई तनाब, विमानस्थलमा अख्तियारको छापा, कार्की ट्रेडको अबैध धन्दा बन्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई निकै सुधारतिर लगेका छन् ।
जोखिम मोलेर किराँतीले निगमलाई तीन वटा सटल जहाजहरू किनेर दुर्गमका जिल्लाहरूमा उडान गर्ने तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मन्त्री किराँतीले निगमका लागि जहाज खरिद गर्न लागेको मन परेको छैन ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मन्त्री किराँतीको क्रान्तिकारी कदमप्रति असन्तुष्ट छन् । मन्त्री किराँती र महानिर्देशक अधिकारीबीच राम्रो सम्बन्ध छैन । स्पष्टीकरण काण्डमा महानिर्देशक अधिकारीले किराँतीको मन्त्री पद झण्डै चिप्लाइदिएका थिए ।
प्राधिकरणका उच्च तहका कर्मचारीहरूका अनुसार महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई जहाज खरिद गर्नबाट कसरी रोक्न सकिन्छ भनेर असहयोग गरिरहेको आरोप छ ।
मन्त्री किराँतीले केही हदसम्म निगमको पुरानो साख फर्काउन सफल भएका छन् । निगम अहिले ऋण तिर्न सक्ने हैसियतमा पुगेको छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीले यसै त निगमलाई कर्के नजरले पनि हेर्न सक्दैनन् भनेर आरोप लाग्दै आएको छ । झन् निगमले जहाज नै किन्न लागेपछि महानिर्देशक अधिकारीलाई तनाब भएको आरोप लागेको छ । निगमविरुद्ध अधिकारीले उठाएका बेलाबखतका कदमहरूले पनि ती कुराहरूमा संकेत गरिरहेको कर्मचारीहरूको भनाइ छ ।
निजी क्षेत्रका एयरलाइन्सका लापरवाहीमा महानिर्देशक अधिकारीले बेलाबखत आँखा चिम्लने गरेको आरोप छ । महानिर्देशक अधिकारीले निगमको सानाभन्दा साना त्रुटिमा पनि जहाज र कर्मचारीलाई तुरुन्तै ग्राउन्डेड गरिहाल्छन् ।
मन्त्री किराँतीले स्पष्टीकरण सोधेका बेला महानिर्देशक पद बचाउन बालुवाटारसँग भएको विभिन्न अदृष्य क्षतिलाई लिएर बेलाबेला अधिकारी बरबराउने गरेको चर्चा प्राधिकरणभित्र छ ।
निगमलाई जहाज किनेर थप घाटा गराउन लागेको भनेर महानिर्देशक अधिकारीले गलत हल्ला फैलाएको भनेर मन्त्री किराँतीलाई सूचना पुगेको छ ।
होटल सोल्टीको सेयर बिक्री गरेर मन्त्री किराँतीले सेटिङ्ग मिलाएको भनेर हल्ला गराएको चर्चा पनि छ ।
यता, एयरपोर्टको कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स संचालनमा रोक लगाइएको छ । कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्सलाई महानिर्देशक अधिकारीले संरक्षण गर्दै आएका थिए । मन्त्री किराँतीले कार्कीलाई सञ्चालनमा रोक लगाइदिएपछि अधिकारीलाई तनाब भएको छ ।
उता, दशैँ अगाडि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको छ । विमानस्थल निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले दशैं अघि छापा मारेको उच्च स्रोतले जनाएको छ ।
पोखरा विमानस्थल बनाउँदा त्यसको आयोजना प्रमुख अहिलेका महानिर्देशक अधिकारी नै थिए । अधिकारीविरुद्ध अख्तियारमा उजुरीहरूको प्रसस्तै परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया