मनाङ एयरको हेलिकप्टरका पाइलटको मृत्यु

काठमाडौं । भारतमा उपचार भइरहेका मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका घाइते पाइलट प्रकाशकुमार सेढाईंको मृत्यु भएको छ ।

सेढाईंको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत थिए । उनको उपचारका क्रममा मृत्यु भएको मनाङ एयर प्रालिले जानकारी दिएको छ ।

असोज २७ गते सोलुखुम्बुको खुम्बु क्षेत्रमा मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्ट दुर्घटना भएको थियो ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईं मात्र थिए ।

मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ ।

‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2023 October 25, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया