दशैँले नेपाली समाजलाई पारिवारिक स्नेह र सामाजिक सद्भावमा राखेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैँ २०८० को अवसरमा शुभ–कामना प्रदान गरेका छन् ।
शनिबार शुभकामना सन्देश जारी गरेर पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बडा दशैँ २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका हुन् ।
‘दशैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ’, सभापति देउवाले भने ।
‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो’, उनले भने, ‘मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ ।’
‘विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध छ’, उनले भने, ‘बडा दशैंले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंदै आएको छ र बनाउनु पर्दछ ।’
सभपाति देउवाले भने, ‘बडा दशैंको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया