दुर्घटनामा परेको मनाङ एयरको हेलिकोप्टरमा आगो लाग्यो

काठमाडौं । मनाङ एयरको एन–एनजे कलसाईन हेलिकोप्टर दुर्घटना भएको छ ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकोप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट सेडाइ मात्र थिए । हेलिकोप्टरान आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । हेलिकोप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

हेलिकोप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Published : Saturday, 2023 October 14, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया