कानिङ सेडुप लिङ गुम्बामा १४ सय प्रशिक्षार्थीले लिए बुद्ध धर्म र सम्भोटा लिपिसम्बन्धी प्रशिक्षण

काठमाडौं । कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषका संरक्षक समेत रहेका गुरुवर छयोकी नीमा रिन्पोछेले सम्भोटा लिपि तथा बुद्ध धर्मसम्बन्धी शिक्षणको समापन गरेका छन् ।

शुक्रबार बौद्धको रामहिटीमार्गस्थित सेतो गुम्बाको परिसरमा गुरुवर रिन्पोछेले तारापूजा र प्रज्ञा पारमिता पूजासहित समापन गरेका हुन् ।

कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषले हरेक वर्ष सम्भोटा लिपि तथा बुद्ध धर्मसम्बन्धी निःशुल्क प्रशिक्षण दिँदै आएको छ । कोषले विक्रम् सम्वत २०७० देखि यो कार्यक्रम निरन्तर गर्दै आएको छ । १०औँ प्रशिक्षण कार्यक्रममा १४ सय प्रशिक्षार्थी सहभागी भएको खेन्पो पेमा लामाले बताएका छन् ।

यस वर्ष असारको ४ गतेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबार (असोज २७ गते) विशेष प्रवचन र पूजासहित समापन भएको छ ।

सम्भोटा लिपिले हिमालयन लिपिलाई चिनाउँछ । बुद्ध धर्मप्रति रुचि राख्नेहरूले सम्भोटा लिपिको अध्ययन गर्ने गर्छन् । थोन्मी सम्भोटाले नै यो लिपिलाई उत्पति गरेका थिए । सम्भोटा लिपि बुद्ध धर्ममा निकै प्रचलित छ । सातौँ शताब्दीमा बुद्ध धर्मको पुस्तक लेख्नका लागि सम्भोटा लिपिलाई प्रयोगमा ल्याइएको थियो ।

तारा पूजा, प्रज्ञा पारमिता पूजाका साथै दश कुशल कर्म अपनाउनुपर्ने र दश अकुशल कर्म त्याग्नुपर्ने विषयमा रिन्पोछेले ज्ञान दिएका थिए ।

प्रशिक्षणका क्रममा प्रशिक्षार्थीलाई ‘सद्धर्मचिन्तामणिमोक्षरत्नालंकार’ शास्त्रको ज्ञान दिइएको थियो । प्रशिक्षणका क्रममा प्रत्येक शुक्रबार खेन्पोहरूद्वारा शाक्यमुनि बुद्धको साधना र समाथ ध्यान गर्ने विधिका बारेमा पनि शिक्षा दिइएको खेन्पो पेमा लामाले बताए ।

Published : Friday, 2023 October 13, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया