पूर्वपत्नी भारतीले उत्पात मच्चाइरहेका चेतनका साथीहरूको रिगलबारे नयाँ खुलासा

नेपालगञ्ज । आठ वर्षअघि नेपालगञ्जमा दुई समूहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ ।

घटनाका प्रत्यक्षदर्शीले चेतनलाई आक्रमण हुँदा योगराज ढकाल ‘रिगल’ घटना भएको स्थानमा नरहेको बताएका छन् । मृतक चेतनका साथीहरूले नै घटना हुँदा सो स्थानमा रिगल नभएको बताएका हुन् ।

चेतनमाथि आक्रमण भएपछि उपचारको लागि नेपालगञ्ज नर्सिङ होममा लग्ने युवाहरूले नै घटनालाई राजनीतिकरण गर्ने प्रयास गरिएको बताएका छन् ।

चेतनलाई घटनास्थलबाट उपचार गर्न लग्ने व्यक्ति हुन् नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ४ बसपार्कका हिमाल नकबाघ ।

घटनाका प्रत्यक्षीदर्शी हिमालले घटना हुँदा रिगल उक्त स्थानमा नभएको जनाएका छन् । उनले भने, ‘घटना हुँदा म चेतन दाईको साथमा थिएँ । हाम्रो समूहलाई आक्रमण भएको थियो ।’

‘त्यतिबेला रिगल दाई त्यहाँ थिएन् । राजनितिक रुपमा रिगलदाईलाई फसाइएको हो’, उनले भने, ‘अहिले पनि फसाउने प्रयास गरिदैछ ।’

सडक निर्माणको ठेक्का र अन्य काममा आफनो वर्चस्व गुम्ने डरका कारण नेकपा (एमाले) बाँकेका नेताहरूले रिगललाई फसाउन लगानी गरिरहेको हिमालले आरोप लगाएका छन् ।

नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटना स्थलमा नभएको बताएका छन् ।

चेतनालाई छबिलाल बस्नेतले आक्रमण गरेको बताएका छन् । विनयले भने, ‘छबिलालको समुहले हामीमाथि आक्रमण गरेको हो । रिगल ढकालले होइन । अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरी फसाउन खोजेका छन् ।’

प्रत्यक्षदर्शी नेपालगञ्जको धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिति नरहेको बताएका छन् । राजनीतिक प्रतिसोधका कारण ढकाललाई फसाउने काम भैरहेको भन्दै गुरुङले आम जनतासमक्ष रिगल निर्दोष भएको बताए ।

नेपालगञ्जको धम्बोझीमा बिक्रम् संवत् २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो । घटनामा मानन्धरको मृत्यु भएपछि ढकाललाई राजनीतिक प्रतिशोध साँध्नको लागि फसाइएको थियो ।

आठ वर्षको जेल सजायपछि कैद मिनाह गरेर आएपछि ढकालको बारेमा सामाजिक संजालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन् ।

चेतनकी पूर्वपत्नी भारती शेर्पाले ढकाललाई सजाय हुनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् ।

दाङको कारागारमा रहँदा भारतीले आफूसँग ५० लाख रुपियाँ मागेको रिगलले सार्वजनिक रुपमा बताएका छन् ।

आर्थिक प्रलोभन, उस्काहट र राजनीतिक प्रतिशोध साँध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाएका छन् ।

मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो विवाह गरेकी छिन् । आफू दाङ कारागारमा भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ गरेको ढकालले बताएका छन् ।

आफूले छोराको सम्पूर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाए पनि ५० लाख भने दिन नसक्ने बताएको रिगलले बताएका छन् । (कालपृष्ठ न्यूज डटकमबाट साभार)

Published : Wednesday, 2023 October 11, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया