प्रहरीका दुई आईजीपीहरू देश बाहिर, कार्यबाहक पनि अमेरिका उडे

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी)हरू देश बाहिर रहेका छन् ।

मुलुकको शान्ति सुरक्षालाई लिएर चिन्ता बढेका बेला नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल विदेश भ्रमणमा गएका हुन् । नेपाल प्रहरीका कार्यबाहक आईजीपी टेकप्रसाद राई पनि देश बाहिर उडेका छन् । एआईजी राई अमेरिका प्रस्थान गरेका छन् ।

एआईजी राईले अर्का एआईजी दीपक थापालाई कार्यबाहक आईजीपीको जिम्मेवारी दिएका छन् ।

नेपाल प्रहरीका आईजीपी कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायत प्रस्थान गरेको छ । असोज २२ देखि २६ गतेसम्म आईजीपी कुँवरको भ्रमण हुनेछ ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) अर्याल अमेरिका प्रस्थान गरेका छन् ।

अर्याल असोज २७ देखि ३० गतेसम्म अमेरिकामा संचालन हुन गइरहेको कार्यक्रममा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

आईजीपी अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नेछन् ।

अराजक समूहहरूले काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा प्रदर्शनहरू गरिरहेका छन् । माइतीघर मण्डलामा अराजक समूहले दैनिक सरह प्रदर्शन गर्दै आएका छन् । तराईका जिल्लाहरूमा धार्मिक हिंसाका प्रयासहरू भइरहेका छन् । आईजीपीहरू भनेर देश बाहिर छन् ।

Published : Wednesday, 2023 October 11, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया