ललितपुरमा महिलाको कलेजो र मिर्गौला सफल प्रत्यारोपण

काठमाडौं । ललितपुरमा रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले ३४ वर्षीया महिलालाई कलेजो र मिर्गौला प्रत्यारोपण गरेको छ ।

अस्पतालले असोज २२ गते सोमबार एक जना व्यक्तिलाई कलेजो र मिर्गौला प्रत्यारोपण गरेको हो । यो शल्यक्रिया दुर्लभ मानिएको छ । शल्यक्रिया गर्न १८ घण्टाभन्दा धेरै समय लागेको थियो ।

कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति चितवनको भरतपुर महानगरपालिका निवासी ३४ वर्षीया महिला हुन् । उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए । ती महिलालाई ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन् ।

अस्पतालले मल्टी–डिस्किप्लिनरी एप्रोच अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसीयू क्रिटिकल केयर विशेषज्ञ, ब्लड बैंक, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरू गरी १०० जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको थियो ।

शल्यक्रिया गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा.अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा.सञ्जीव अनेजाको सहभागिता रहेको थियो ।

अस्पतालका वरिष्ठ शल्य चिकित्सक प्रा.डा.मुकुन्दराज जोशीको नेतृत्वमा लिभर ट्रान्सप्लान्ट सर्जन डा.एकानन्द सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा.वरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा.नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री र डा.कश्यप दाहाल लगायतको सहभागिता रहेको थियो ।

शल्यक्रियाका लागि तयारी गर्न करिब ६ महिना लागेको अस्पतालले जनाएको छ । अस्पतालले ११५ भन्दा धेरै अंग प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

Published : Tuesday, 2023 October 10, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया