खाली दरबन्दीमा करारमा जनशक्ति नियुक्त गर्न स्वास्थ्यमन्त्री खनालको निर्देशन

देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले परिणाम देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरी समयसीमा तोकेर काम गर्न आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षदेखि शुरू हुने गरी मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक केही कार्यविधि अझैसम्म नबनेकोप्रति असन्तुष्टि व्यक्त गर्दै स्वास्थ्यमन्त्री खनालले सबै कार्यविधि तीन दिनभित्र बनाइसक्न निर्देशन दिएका छन् ।

‘जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस्, कुनै पनि काम पेण्डिङमा नराख्नुस्, यहाँ काम गर्ने मन छैन भने भन्नुस अन्यत्र जाने व्यवस्था म गरिदिन्छु’, खनालले भने ।

जनशक्ति कमीका कारण काम नभएको रेडिमेट जवाफ आफूलाई नचाहिएको भन्दै मन्त्री खनालले कामको प्रगति देखिनका लागि नभई नहुने जनशक्ति व्यवस्थापन छिटै गरिने बताए ।

खाली दरबन्दीमा करारमा जनशक्ति नियुक्त गर्ने बाटो खुलिसकेको भन्दै स्वास्थ्यमन्त्री खनालले खाली रहेका पदमा तत्काल दर्खास्त खोल्न निर्देशन दिएका छन् ।

प्रदेशमा रहेका मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालय बन्नुपर्ने भन्दै खनालले स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नतिको प्रकृया सुरू गर्न पनि निर्देशन दिएका छन् ।

Published : Saturday, 2023 October 7, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया