‘रिगल’लाई सुध्रिएको हेर्न नचाहने कथित ठेकेदारहरू, धेरै भावुक नबनौं, आफ्नो अनुहार हेरौं

काठमाडौं । रवि लामिछानेहरू पनि यो समाजमा छन् । दीपक मनाङ्गे, मिलन चक्रे, गोकुल बास्कोटाहरू पनि छन् । अग्निप्रसाद सापकोटा, ज्ञानेन्द्रबहादुर शाही पनि छन् । कृष्णबहादुर महरा पनि छन् । रेशमलाल चौधरी पनि छन् । र, सुध्रिन चाहने योगराज ढकाल ‘रिगल’हरू पनि छन् ।
संविधान सभाबाट बनेको संविधान, ऐन, कानूनलाई पालना गरेर रिगलले आफूलाई सुधारेका छन् । अपराध गरेको सजाय उनले भोगेका छन् । अपराध गरेर जेल बसेर हालै दुई हप्ता अगाडि रिगल, सरकारले राष्ट्रपतिमार्फत दिएको आममाफी पाएर छुटेका छन् ।
जेलमा बस्दा त्यहाँभित्रको अनुशासनलाई अनुशरण गरेर रिगलले आफूलाई सुधारेका छन् । उनले बिगतको इतिहाँसलाई जेलभित्रको अग्ला, ठूला र बाक्ला पर्खालहरूभित्र छाडेर आएका छन् ।
रिगलले आफूलाई अपराधको दुनियाँबाट बाहिर निकाल्न खोजेका छन् । तर, यो समाजका कतिथ स्वघोषित बुद्धिजीवी समूहले रिगललाई सुध्रिन अवसर दिन खोजेको छैन । रिगललाई पुन: त्यही पुरानो अपराधको दुनियाँमा धकेल्न खोजेको छ ।
साँच्चिकै कुन नेता, कुन पृष्ठिभूमिबाट आएको छ ? त्यसको विगतको अतित के हो खोज्ने हो भने धेरै भीआईपी र भीभीआईपीहरू नाङगिनेछन् । मिडियाका मालिकहरू नाङगिनेछन् । रिगललाई आममाफी दिएको भनेर सामाजिक सञ्जालमा कुर्लिनेहरू पनि नाङ्गै हुनेछन् ।
जेलबाट बाहिर निस्किँदा रिगललाई मात्रै भव्य स्वागत भएको थियो र ? रिगलमात्रै अपवाद होइनन् । आत्महत्याको दुरुत्साहनमा चितवनको हिरासतमा पुगेका रवि लामिछानेको स्वागतमा कति मानिस नारायणी नदीमा उत्रिएका थिए ? चुनावमा दुई पटक उम्मेदवार बन्दा रवि लामिछानेको पक्षमा कति भोट खसेको थियो ? रवि लामिछाने को हुन् ? उनको अपराधका बारेमा भनि रहनु पर्ला र ?
रिगलले संविधानले दिएको अधिकारलाई व्यवहारमा लागू गरेर माफी पाएर छुटेका हुन् । रवि लामिछानेहरूले जस्तो नागरिकता र राहदानी कीर्ते गरेर सामाजिक सञ्जाल, मिडिया र राजनीतिक शक्तिको आडमा माफी पाएका होइनन् ।
सुध्रिन चाहने रिगलप्रति सानो झुण्डले देखाएको पूर्वाग्रही कार्यले चिन्ता बढाएको छ । केही मिडिया, सामाजिक सञ्जाल चलाउनेहरूले अपराधबाट सुध्रिन चाहनेहरूलाई पुन: अपराधमा धकेल्न चाहेका छन् ।
रिगलविरुद्ध केही समूहले उत्पात मच्चाएको हेर्दा कैदीको सजाय माफी सम्बन्धी कानूनी प्रावधान नै संशोधन गर्नुपर्ने देखिएको छ ।
जवरजस्ती करणी, मानव बेचबिखन लगायतका केही मुद्धा बाहेकमा कुल सजायको ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद मिनाहा गर्ने कानूनी व्यवस्था रहेको छ । यसैका आधारमा मानिसहरू छुटेका हुन् । राष्ट्रपति होस् वा रिगलहरूलाई दोष दिएर अनर्गल प्रचार गर्नु उचित होइन ।
खोज्ने हो भने एमाले, कांग्रेस, रास्वपा, राप्रपालगायतका दलका धेरै नेता कार्यकर्ताहरूले कस्तो अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सफाइ पाएका छन् धेरै उदाहरण भेटिनेछन् ।
जथाभावी टिकाटिप्पणी गरिरहेका केही पूर्वन्यायाधीश, कानून व्यवसायी र मिडियाहरूले रिगलले के अवस्थामा माफी पाएका हुन् फाइल हेर्नुपर्छ । रिगलले आममाफी पाउनु हुँदैन भनेर कतै लेखेको छैन । रिगल नेपाल तरुण दलको तत्कालीन क्षेत्रीय सभापति भएकै कारण माफी पाएको भनेर प्रचार गरिएको छ । त्यो बेलाको रिगल अहिलेको रिगल होइन । संविधान दिवसका अवसरमा आममाफी पाएर रिहा भएको रिगल सुध्रिएको व्यक्ति हो । रिगल सुध्रिएकै कारण उनको पक्षमा ठूलो जनमत देखिएको छ । उनको स्वागतका लागि युवाहरू पुगेका हुन् ।
रिगलले आममाफी पाएको विरोधमा सानो समूहले भारती मानन्धरलाई उचलेको छ । आफ्नै पत्रकार, कर्मचारी र मजदुरलाई तलब नदिएर हैरान बनाएका कथित मूलधारका मिडियाले भारतीको मार्मिक कथा बनाएर छापेका छन् । भारती मानन्धनरलाई पनि गोरखाका नन्दप्रसाद अधिकारीको जोडीको अवस्थामा पुर्याउन केही अवसरवादी तत्वहरूले उकासीरहेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रिगलसहित ६ सय ७० जनालाई आममाफी दिएका हुन् ।
बिक्रम् संवत् २०७२ असार २८ मा अपराह्न ३ बजे चेतन मानन्धरलाई सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगलले सजाय पाएका थिए । रिगलले कहिल्यै पनि त्यो अपराध स्वीकार गरेका छैनन् । रिगलले चेतन मानन्धरको हत्या किन गरेको भनेर हत्यामा संलग्न युवाहरूलाई गाली गरेको प्रत्यक्षदर्शीहरूले अहिले पनि बताउने गरेका छन् ।
हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैदको थियो । सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो ।
घटनापछि फरार रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । रिगलले अदालतसमक्ष आत्मसमर्पण गरेको राम्रो पक्षलाई सबैले भुलेका छन् ।
साविक मुलुकी ऐन २०२० अनुसार जन्मकैद पाएको व्यक्ति २० वर्ष जेलमा बस्नुपर्छ । असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुगेको छ । ४० प्रतिशत सजाय काटेपछि अनुशासन र राम्रो चालचलनसहित सुध्रिएमा सरकारले विभिन्न निकायको सिफारिसमा मन्त्रिपरिषदको निर्णयसहित राष्ट्रपतिसमक्ष सफारिस गरेर आममाफी दिने कानूनी व्यवस्था छ ।
रिगलविरुद्ध मिडियावाजी, सामाजिक सञ्जालमा उत्पात मच्चाउनेहरू, संसदमा बोल्ने सांसदहरूका फाइल खोलेर हेर्ने हो भने रिगलका गुरुहरू त्यहाँ देखिनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया