धादिङका अधिकारीले युवा संयोजकमा उम्मेदवारी घोषणा गरेर एनआरएनएमा हलचल ल्याइदिए

काठमाडौं । रविन अधिकारीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११औं महाधिवेशन युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ जिल्ला स्थायी घर भइ हाल पोर्चुगलमा बस्दै आएका अधिकारीले आइसीसी युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । अधिकारीले संयोजकमा उम्मेदवारी घोषणा गरेपछि एनआरएनएका प्रतिनिधिहरूभित्र खैलाबैला भएको छ । संयोजकमा निर्वाचित भएमा उनले सन् २०२३ देखि २५ सम्मको कार्यकालका लागि काम गर्न पाउनेछन् ।

अधिकारीले ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’लाई नारा बनाएका छन् । अधिकारी १४ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य, पोर्चुगलको युवा संयोजक, आइसीसी सदस्यको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्षको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले एनआरएनएमा युवाहरूका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताएका छन् ।

प्रवासमा रहेका युवाहरूलाई फुटबल, भलिबल, क्रिकेट लगायतका खेलकुदहरूको माध्यमबाट जोड्न एनआरएनए युवा खेलकुद कोष स्थापना गर्ने योजना अधिकारीको छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्दै सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

विदेश आएका कतिपय नेपाली युवाहरू विभिन्न खालको कुलत र समस्या फसिरहेको बताएका अधिकारीले उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोँच वृद्धि गराउनु आफ्नो योजना रहेको बताएका छन् ।

रोजगारका लागि विदेश जान चाहने युवाहरूलाई नेपालमै रोजगारमूलक तालिम सञ्चालन गरी जाने सम्बन्धित देशका एनआरएनए एनसीसीहरूसंगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागि पहल गर्ने र त्यसको सुपरिवेक्षण अधिकारीको योजना छ ।

Published : Thursday, 2023 October 5, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया