अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकन नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नेपाली तथा विदेशी मुद्रा अबैध रुपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेका अमेरिकन नागरिक ७० वर्षीय डेभिड एलन हार्वुडलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङका बेला अमेरिकन नागरिकसँग अबैध मुद्राहरू बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले बेलुका ६ बजेर २० मिनटमा काठमाडौंबाट बैंकक जान लागेका अमेरिकी नागरिकलाई प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा चेकजाँच तथा शरीर खानतलासी गर्ने क्रममा अबैध मुद्रासहित पक्राउ गरेको थियो ।

पक्राउ परेका यात्रुको शरीर र झोलाहरूभित्र बिभिन्न दरका अमेरिकी डलर जम्मा एक सय पन्ध्र मात्र, बिभिन्न दरका सिंगापुर डलर चवालीस, बिभिन्न दरका थाई भाट बीस हजार नौ सय नब्बे, बिभिन्न दरका भारतीय रुपैयाँ अठ्ठाईस हजार दश मात्र, बिभिन्न दरका नेपाली रुपियाँ छ लाख सात हजार चार सय छयानब्बे रुपिया सत्तरी पैसा र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचीन मुद्राहरू (सिक्का) थान चौसठ्ठी अबैध रुपमा लुकाईछिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका अमेरिकन नागरिकलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाएको छ ।

Published : Wednesday, 2023 October 4, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया