निजी अस्पतालले १० प्रतिशत बेड नि:शुल्क नगरे नवीकरण हुँदैन : मन्त्री बस्नेत

घोराही । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने बताएका छन् ।

बुधबार दाङको घोराहीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक बाधक रहेको बताए ।

‘मैले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भनेर अहोरात्र बोलिरहेको छु’, उनले भने, ‘प्रकिया पनि अगाडि बढाउँदै आएको छु ।’
मन्त्री बस्नेतले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीसँग पनि राखेको छु र उहाँ पनि यसलाई गम्भीर विषय भएको भन्दै अगाडि बढाउन सकारात्मक हुनुहन्छ ।’

उनले अस्पतालहरूमा दरबन्दी एक चौथाइमात्रै रहेको हुँदा एक जना चिकित्सकले चार जना बराबर काम गरिरहनु परेको पनि बताएका छन् ।

मन्त्री बस्नेतले विपन्नहरूका लागि देशव्यापी रूपमा नि:शुल्क उपचारको सुविधा गराउन चाहेको पनि उल्लेख गरेका छन् ।

प्रभावकारी स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति, आधुनिक औजार उपकरण र सुविधा सम्पन्न भौतिक संरचना अपरिहार्य रहेको भन्दै त्यसको परिपूर्तिका आफू लागिपरेको उनले बताएका छन् ।

मन्त्री बस्तेतले निजी अस्पतालले दश प्रतिशत बेड पूर्ण नि:शुल्क नगरे अस्पतालको नवीकरण नहुने बताएका छन् । उनले गरिब तथा विपन्न समुदायका लागि निजी अस्पतालहरूले अनिवार्य रूपमा नि:शुल्क बेड छुट्याएर उपचार गर्नुपर्ने बताएका छन् ।

Published : Wednesday, 2023 October 4, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया