असईद्वारा तेलमा १ करोड तीन लाख ९७ हजार हिनामिना

काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीको पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)लाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
सोमबार विशेषले प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा भ्रष्टाचार भएको भनी दायर मुद्दामा दुई वर्षपछि फैसला सुनाएको हो ।
इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने असइ दिलीप कार्कीलाई सजाय सुनाउन पेसीसमेत तोकेको छ । विशेषले सजाय निर्धारणका लागि २५ असोजको पेसी तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई प्रतिवादी बनाई ३१ साउन २०७८ मा मुद्दा दायर गरेको थियो । जसमा दोषी ठहर हुने फैसला भएको छ ।
न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाले यस्तो फैसला सुनाएका हुन् ।
असइ कार्कीले बिक्री भएको तेलको वास्तविक हिसाब नदेखाई भ्रष्टाचार गरेको भेटिएको थियो । उनले तेलबाट भएको आयको गलत प्रविष्टि गरी एक करोड तीन लाख ९७ हजार रुपियाँ हिनामिना गरेका थिए ।
अख्तियारले उनीमाथि कैद सजाय र भ्रष्टाचार गरेको रकमबराबर बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया