तरुण दलद्वारा मूल्य वृद्धि फिर्ता गर्न आग्रह, अन्यथा आन्दोलनको सामना गर्न चेतावनी

काठमाडौं । नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गरेको छ ।

आइतबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गरे आर्थिकस्थितिले धान्नै नसक्ने गरी एलपी ग्यास र पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको भन्दै गम्भीर ध्यान आकृष्ट भएको जनाएका छन् ।

‘सरकार जस्तो अभिभावकीय भूमिकामा रहनुपर्ने निकायले माफिया, कालोबजारिया र कमिशनखोरको चंगुलमा फसेर गरिएको यो मूल्य वृद्धिको निर्णय तुरुन्त फिर्ता नगरेर जनताको बाँच्ने अधिकारको रक्षाका लागि नेपाल तरुण दल देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेछ’, अध्यक्ष गुरुङले भने ।

तरुण दलले पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धि फिर्ता नलिए आन्दोलन चर्काउने र त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सरकार हुने चेतावनी दिएको छ ।

‘नेपालीहरूको महान चाड बडा दशैँ र दीपावली एवम् छठ पर्वको मुखमा आएर गरिएको यो मूल्य वृद्धि निन्दनीय र अक्षम्य छ’, उनले भनेका छन् ।

‘जनता आर्थिकमन्दीको चपेटामा छट्पटी रहेको यो विषय परिस्थितिमा गरिएको मूल्य वृद्धिले आम नेपाली नागरिकहरूलाई चिन्तित एवम् आन्दोलित तुल्याएको छ’, अध्यक्ष गुरुङले भनेका छन् ।

‘कालो बजारिया, माफया र भ्रष्टाचारीहरूलाई थप टेवा र मलजल गर्ने यो जनतामारा निर्णय तुरुन्त फिर्ता लिन नेपाल आयल निगम र नेपाल सरकारलाई तरुण दलले माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङले मूल्य वृद्धिको विरोधमा आन्दोलनमा उत्रिन तयार रहन अपील गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल नै पेट्रोलियाम पदार्थको मूल्य वृद्धिको विरोधमा उत्रिएको छ ।

Published : Sunday, 2023 October 1, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया