मन्त्री खनालद्वारा आरसी थारु मेमोरियललाई सिकलसेल एनिमिया अस्पताल बनाउन प्रस्ताव
बर्दिया । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभित्र सिकलसेल एनिमिया रोगको उपचार गर्न छुट्टै अस्पतालको आवश्यक्ता रहेको बताएका छन् ।
जिल्ला अस्पताल बर्दिया, आरसी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाको अनुगमनका क्रममा आयोजित अन्र्तकृयामा खनालले बर्दियाको आरसी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा विकास गर्न खोजेको बताए ।
चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको खनालले बताएका छन् । मन्त्री खनालले सिकलसेल एनिमिया अस्पताल सञ्चालनबारे संघीय सरकारसँग पनि आफूले कुरा गरेको बताएका छन् ।
स्थानीय सरकारसँग शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै घर नजिक पाउने व्यवस्था मिलाउन प्रदेश सरकार लागेको बताए ।
सीमित बजेटका बीच पनि लुम्बिनी प्रदेश सरकारले शुरु गरेका कामको प्रतिफल नागरिकले पाउन थालेको मन्त्री खनालले बताएका छन् ।
सरकारले उपलब्ध गराएका सेवाको बारेमा आमनागरिकलाई जानकारी दिनआवश्यक रहेको उनले बताएका छन् ।
सिकलसेलका बिरामीको नि:शुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम सरकारले ल्याएको भन्दै खनालले खुसी व्यक्त गरेका छन् । सिकलसेलको औषधिलाई स्वास्थ्य बीमामा समावेश गर्न उनले आग्रह गरेका छन् ।
सिकलसेलका बिरामीले उपचारका लागि छुट्टै अस्पताल बनाउन माग गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको द्वन्द्वपीडितको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्बन्धी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय, सीएमसी नेपाल र दातृ निकायबीच अन्र्तकृया भएको थियो ।
स्वास्थ्यमन्त्री खनालले द्वन्द्व प्रभावितसहित सबै प्रकारका हिंसा द्वन्द्व प्रभावितलाई मनोसामाजिक परामर्श चाहिएको भन्दै तीन तहका सरकारले यस विषयमा ध्यानदिनुपर्ने बताएका छन् ।
एकपक्षले मात्र काम गरेर नहुने भन्दै मन्त्री खनालले नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले यसमा बढि ध्यानदिनुपर्ने बताएका छन् ।
मानसिक लगायतका नसर्ने रोगबिरुद्ध तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया