सरकार ढल्ने भएपछि एमालेले केदारलाई उचाल्यो, कांग्रेसभित्र बबाल

काठमाडौं । कोशी प्रदेशमा एमालेको प्रदेश सरकारले पनि विश्वासको मत नपाउने भएपछि नेपाली कांग्रेसभित्र एमालेले आगो सल्काइदिएको छ ।

विश्वासको मत नपाउने पक्का जस्तै भएपछि एमालेले कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीलाई उचालेको छ । केदार कार्की नेता शेखर कोइराला निकटका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसका प्रदेश सांसद केदार कार्कीलाई भावी मुख्यमन्त्रीका लागि तयार रहन र आफूले विश्वासको मत नपाएमा मुख्यमन्त्रीमा अगाडि सार्ने चारो फालेका छन् । हिक्मत कार्कीको चारोमा लोभिएका केदार कार्कीले भावी मुख्यमन्त्रीमा आफूलाई कांग्रेसले अगाडि बढाउनुपर्ने भनेर बबाल गरिरहेका छन् ।

राप्रपाले विश्वासको मत दिएन भने एमालेको प्रदेश सरकार पनि पुन: ढल्ने पक्का छ । एमालेको सरकार ढल्यो भने कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि एमाले सत्तामा टिक्न चाहेको छ । एमालेले कांग्रेससँग मुख्यमन्त्री आधाआधा कार्यकालका लागि बाँड्न चाहेको छ ।

एमालेको सरकार ढल्यो भने कोशी प्रदेशमा मध्यावधि चुनावको ठूलो सम्भावना छ । मध्यावधि चुनावमा जान दलहरू डराइरहेका छन् । मध्यावधि चुनाव भयो भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै सिट जित्ने अनुमान छ । तर, रास्वपा मध्यावधि चुनावमा भाग लिन्छ वा लिँदैन केही भनिएको छैन ।

कोशी प्रदेश सभामा कांग्रेसको संसदीय दलका नेता उद्धव थापा हुन् । थापा कांग्रेसको कोशी प्रदेश कार्यसमितिको सभापति पनि हुन् । थापालाई दुई पटक मुख्यमन्त्री बनिसकेका छन् । दुई पटक नै थापाको सरकारले विश्वासको मत पाउन नसकेपछि ढलेको छ ।

एमालेका हिक्मत कार्कीको सरकार पनि एक पटक ढलिसकेको छ । अर्को पटक हिक्मत कार्कीको सरकार ढल्ने पक्का जस्तै छ ।

शुक्रबार विराटनगरमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकमा एमालेको सरकार ढल्यो भने कांग्रेस कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

संसदीय दलका नेता थापालाई बाइपास गरेर केदार कार्कीले आफूलाई भावी मुख्यमन्त्री बनाउने भनेर निर्णय गराउन दवाव दिएका थिए । केदार कार्कीले बबाल गरेपछि कुनै निर्णय हुन सकेन ।

केदार कार्कीले निर्णय पुस्तक खोसेर आफू खुसी लेख्न खोजेका थिए । केदार कार्कीको हर्कतलाई प्रमुख सचेतक भूपेन्द्र राईले अबरोध गरिदिएका थिए ।

संसदीय दलका नेता उद्धव थापालाई अविश्वासको प्रस्ताव ल्याएर फाल्नका लागि केदार कार्कीले पटक पटक सफल प्रयासहरू गरिरहेका छन् । उनका गतिविधिबाट कांग्रेसका नेताहरू आजित बनेका छन् ।

कांग्रेसले उप–सभामुख सिर्जना दनुवारलाई सभामुख स्वीकार गर्ने कि नगर्ने भन्ने विषय र अध्यादेशबाट ल्याएको बजेटबारे गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसको भूमिकाको विषयमा समेत थप छलफल भएको छ ।

भदौ ४ गते उप–सभामुख सिर्जना दनुवारले बैठक बोलाएर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।

यसैबीच कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आव्हान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान गरेको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । कार्की भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

Published : Saturday, 2023 September 30, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया