काठमाडौं महानगरपालिका १४ का जनप्रतिनिधि एमालेका महर्जन भ्रष्टाचारी

काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिका– १४ का पूर्व वडा सदस्य वसन्त महर्जनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
मुद्दा दायर भएको डेढ वर्षपछि महर्जनलाई विशेष अदालतले कैद र जरिवाना हुने सजाय सुनाएको छ ।
विशेषका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट महर्जनलाई भ्रष्टाचारी ठहरको फैसला भएको छ ।
महर्जनलाई नौ महिना कैद तोकिएको छ । दुई लाख रुपियाँ जरिवाना हुने भएको उपरजिस्ट्रार धनबहादुर कार्कीले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महर्जनमाथि २० माघ ०७८ मा मुद्दा दायर गरेकोमा दोषी ठहर हुने फैसला भएको छ ।
वडासदस्य महर्जन २१ भदौ ०७८ मा दुई लाख रुपियाँ घुससहित पक्राउ परेका थिए । अख्तियारको टोलीले उनलाई कलंकीको खसीबजारस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो ।
नेकपा (एमाले)बाट निर्वाचित वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मालपोत कार्यालयलाई सिफारिस गर्नका लागि सेवाग्राहीसँग रकम माग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया