कांग्रेस सक्काउँछु भन्नेहरू आफै सकिनेछन् : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस सक्काउँछु भन्नेहरू आफैं सकिने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बस्नेतले सिन्धुपाल्चोकमा कांग्रेसको बलियो जग बसिसकेको बताए । उनले कसैले षड्यन्त्र गर्दैमा कांग्रेस कमजोर नहुने बताएका छन् ।

उनले पार्टीभित्र बिगार्न चाहनेभन्दा सपार्न चाहनेको संख्या अत्यधिक भएकाले सानोतिनो असमझदारीले पार्टीमा ठूलो क्षति नहुने बताएका छन् ।

बस्नेतले भने, ‘सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले गरेका काम र संगठनदेखि कम्युनिष्टहरू आत्तिएका छन् । उनीहरूले हाम्रै साथीहरुलाई लोभमा पारेर पार्टी कमजोर गर्न उक्साइरहेका छन् । उनीहरूको षड्यन्त्रबाट बच्नुपर्छ ।’

कम्युनिष्टका मतियार र हतियार बनेर लाग्ने गरेकाहरूलाई पार्टीले कडा कारबाही गर्ने नेता बस्नेतले चेतावनी दिएका छन् ।

उनले हिजोका दिनमा केही कमजोरी भएको भए त्यसलाई सच्याएर जाने तर गलत प्रवृतिसँग भने कहिल्यै घुँडा नटेक्ने बताएका छन् ।

आफूले ३ पटक निर्वाचित भएर ३ पटक मन्त्री भइसकेको बताउँदै अब नयाँ पुस्ताको राजनीतिक भविश्य सुनिश्चित पार्नका लागि युवाहरुले नेपाली कांग्रेस बलियो बनाउँदै लैजानुपर्ने बस्नेतले बताएका छन् ।

कांग्रेसका नेता तथा पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाले मोहन बस्नेत जस्तो हिम्मतिलो र विकासप्रेमी नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको विषय भएको बताए । उनले पार्टी एकढिक्का भएर अगाडि बढाउनुपर्ने दायित्व सबै नेताको भएको बताएका छन् ।

Published : Thursday, 2023 September 28, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया