राष्ट्रपति इन्द्रजात्रा अवलोकन गर्न सामान्य नागरिक सरह हिँडेर गए
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य नागरिक सरह बसन्तपुर पुगेर इन्द्रजात्रा अवलोकन गरेका छन् ।
बिहीबार सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन् ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलो पटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठक अगाडिसम्म गाडीमा जाने गरेका थिए ।
जात्रा अवलोकन गर्न उप–राष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज बिहीबार मुख्य दिन हो ।
तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौं शाखाले जनाएको छ । शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिनेछ । असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइनेछ ।
यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार गएर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।
असोज १५ गते सोमबार राति ८:३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।
वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया