शान्ति सुरक्षाप्रति लापरबाही भइरहेका बेला गृहमन्त्री श्रेष्ठको रमिता

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति गैरकानून क्रियाकलाप नियन्त्रण, तस्करी र चिकित्सकहरूमाथि भइरहेको आक्रमण रोक्ने तथा शान्ति सुरक्षा बनाउनेभन्दा पनि कर्मचारीहरूलाई कार्यालय समयमा योग अभ्यास गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री श्रेष्ठको निर्देशनमा उप–सचिव भीमकान्त शर्माले बुधबार परिपत्र गरेर योग अभ्यास एवम् ध्यान गर्न उच्च तहका सबै कर्मचारीहरूलाई निर्देशन दिइएको छ ।

परिपत्रमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीहरूको सहभागितामा एक दिवसीय ध्यान वज्ञान कार्यक्रम सञ्चालन भैसकेको जनाइएको छ ।

अन्य कर्मचारीहरूका लागि समेत निकट भविष्यमै प्रशिक्षण योजना रहेको गृह मन्त्रालयले जनाएको छ ।

महाशाखा अन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १० बजेर १५ मिनटको समयमा योग अध्यास र ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला मन्त्रालय मातहतका कर्मचारीहरूलाई कार्यालय समयमा योग गर्न आदेश दिएर रमिता गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भइरहेको छ । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लाहरूमा पनि सुन तस्करी भइरहेका छन् ।

चिकित्सकहरूको शान्ति सुरक्षा छैन । दैनिक रुपमा चिकित्सकहरू शान्ति सुरक्षा माग गरेर आन्दोलन गरिरहेका छन् । तर, गृहमन्त्री श्रेष्ठले मातहतका कर्मचारीहरूलाई कार्यालय समयमा योग गराउन लागेका छन् ।

नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले पनि चिकित्सकहरूलाई शान्ति सुरक्षा दिन नसकेको भनेर आलोचना भइरहेको छ । आईजीपी कुँवरले गृहमन्त्री श्रेष्ठलाई शान्ति सुरक्षा बनाउने विषयमा कन्भिन्स गर्न नसकेको आरोप पनि लागेको छ ।

Published : Thursday, 2023 September 28, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया