सम्बन्धविच्छेदबारे सर्वोच्च अदालतको ठूलो फैसला र व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले परम्परा वा संस्कृतिलाई आधार मानेर गरिएका सम्बन्धविच्छेदलाई मान्यता दिन अस्वीकार गरिदिएको छ ।

चैत २६ गतेको फैसलामा सर्वोच्च अदालतले मनौवर हसनसमेत प्रतिवादी रहेको मुद्दामा परम्परा वा संस्कृतिलाई आधार मानेर सम्बन्धविच्छेद गरेको कुरालाई मान्न नसकिने जनाएको हो ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्धविच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानूनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन प्रचलनमा रहेकाले तथा स्वेच्छाचारी प्रकृतिका सम्बन्धविच्छेदजस्तै तीन तलाकलाई अन्य देशहरूमा कसूरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिअनुसार गरेको तलाक वा सम्बन्धविच्छेदलाई कानूनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट दिएको भन्न मिल्ने देखिँदैन ।’

पहिली श्रीमती सबियाले राम्रो व्यवहार नगरेका कारण इस्लामिक धर्मअनुसार तलाक अर्थात् सम्बन्धविच्छेद गरेर मीनासँग विवाह गरेको बताएका मनौवरले अदालतमा भने मीना चिनजानकी बहिनी रहेको बताएका थिए ।

अर्कोतिर मीनाले सुरुमा मनौवरको सम्बन्धविच्छेद भइसकेको जानकारी पाएपछि मात्र आफूले विवाह गरेको बताए पनि अदालतमा आफू काठमाडौं आएपछि चिनजानको भएका कारण मनौवरसँग बसेको र अनाहकमा उनीसँग विवाह गरेको भनी आरोप लगाइएको बताएकी थिइन् ।

मनौवरकी पहिली श्रीमती साबियाले बहुविवाहको मुद्दा हाल्दै तत्कालीन मुलुकी ऐन बिहेवारीको महलअनुसार सजाय गर्न माग गरेकी थिइन् ।

जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो । उच्च अदालत पाटनले भने चैत २०६९ मा मनौवरलाई एक वर्ष कैद र पाँच हजार रूपियाँ जरिवाना हुने फैसला गरेको छ ।

सर्वोच्चले मीनासँग नाता कायम गरिदिएको छ । यसविरुद्ध मीना र मनौवर दुवैजना दोहोर्‍याई पाउँको निवेदनसहित सर्वोच्च पुगेका थिए ।

भारतको सर्वोच्च अदालतले समेत एक मुद्दामा तीन तलाकलाई स्वेच्छाचारी भन्दै असंवैधानिक मानेको विषयलाई समेत आधार मान्दै संस्कृति र धर्मका आधारमा हुने सम्बन्धविच्छेदलाई मान्न नसकिने फैसला आएको छ ।

मुद्दा दर्ता भएको झन्डै दशकपछि सर्वोच्चबाट फैसला आएको छ । पुस २७ गते २०७१ मा सर्वोच्चमा दर्ता भएको मुद्दा कात्तिक २०७४ मा रुजु भएको थियो ।

२०७९ सालको चैत २६ गते फैसला भएको छ । फैसलामा उच्च अदालतकै फैसला सदर भएको छ ।

Published : Wednesday, 2023 September 27, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया