कोशीमा काठमाडौंबाट मान्छे ल्याएर आन्दोलन, मणिपुर बनाउन खोजियो : एमाले
विराटनगर । एमालेका नेता समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, ‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।’
तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले बताएका छन् ।
कार्कीले कोशी नामकरणविरुद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताएका छन् । उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरूको सहयोगमा काठमाडौंदेखिका मानिसहरू ल्याउन थालिएको आरोप लगाएका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारण सार्वजनिक गरे पनि रवि लामिछानेको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरेका छन् ।
एमालेका अगाडि धेरै समस्या नरहेको बताएका कार्कीले एमाले अरूका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया