मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय तहसँग सहकार्य हुन्छ : मन्त्री खनाल

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
दाङ जिल्लामा रहेका स्वास्थ्य संस्था, अस्पताल तथा दश वटा पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेको बताए ।
उनले मातृ मृत्युदर र कुपोषणलाई शून्यमा झार्ने गरी काम गर्न आवश्यक रहेको बताए । मन्त्री खनालले स्थानीय सरकारलाई स्वास्थ्यमा केन्द्रित रहेर काम गर्न आग्रह गरेका छन् ।
‘मातृ मृत्युदर र कुपोषण शून्यमा झार्नुपर्ने चुनौती हाम्रा सामु छ’, उनले भने, ‘पालिकाका कार्यक्रम त्यसतर्फ केन्द्रित गर्नुस्, आबश्यक सहयोग र सहकार्य गर्न पर्देश सरकार तयार छ ।’
सर्ने रोगलाई खोप लगायतले रोके पनि नसर्ने रोग रोग घातक स्वास्थ्य समस्याको रूपमा देखिएको खनालले बताए ।
मन्त्री खनालले त्यसलाई रोक्न काउन्सिलिङ आवश्यक पर्ने बताएका छन् । स्थानीय तहले आफ्नो कार्यक्रममा राखेर प्रदेशसँग सहकार्य गर्न सकिने उनले बताएका छन् ।
स्थानीय तहका अस्पतालबाट रिफर भएका बिरामीको आफ्नै ठाउँमा विशेषज्ञ उपचार पाउने ब्यवस्था गर्न प्रदेश सरकार लागेको मन्त्री खनालले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया