पुलिसलाई थप पावरफुल बनाउन अर्काे व्यूरो स्थापना गर्न आईजीपीको प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका हुन् ।

उनले सीमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताए । प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यावसायिक ढङ्गले काम गरिरहेको उनले उल्लेख गरेका छन् ।

उनले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पारेका छन् । महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए ।

प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरूले पनि अवसर पाएको उनको भनाइ छ । महानिरीक्षक कुँवरले प्रहरीसमक्ष आर्थिक क्षेत्रका उजुरीहरू पनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताए ।

आईजीपी कुँवरले वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान व्यूरो स्थापना गर्नुपर्ने बताए । त्यसको निम्ति राज्य गम्भीर हुनुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘अहिले सबभन्दा बढी इस्यु भनेको आर्थिक क्षेत्रको इस्यु छ । वित्तीय समस्यासँग, सहकारीसँग र यसैसँग जोडिएका समस्याहरू छन् ।’

‘करिब २५ प्रतिशत मुद्दाहरूले गर्दा हामीलाई समस्या आएको छ । हामीले भनिरहेका छौँ– यसको लागि छुट्टै किसिमको वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ भनेर पहल सुरु गरेका छौँ’, उनले भने, ‘यसका लागि राज्य गम्भीर बन्नुपर्छ ।’

Published : Thursday, 2023 September 21, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया