सभापति देउवाद्वारा तीज पर्वको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको बताएका छन् ।

सोमबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले यी पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।

नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै देउवाले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन यी पर्वहरूले योगदान गर्दै आएको बताए ।

सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फूलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको बताए ।

उनले तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको बताएका छन् ।

उनले यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।

Published : Monday, 2023 September 18, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया