काठमाडौंमा सम्भोता भोटी लिपि सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी

काठमाडौं । भारतीय राजदूतावास काठमाडौं, वीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपालबौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा सम्भोता/भोटी लिपि सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपालबौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरेका छन् ।
सिक्किम भारतबाट आएकी क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।
दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाएकी छिन् ।
राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरेकी छिन् । उनले नेपाल र भारतको लागि बौद्ध धर्म एक साझा धागो भएको बताएकी छिन् ।

जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरेकी छिन् । उनले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जनालिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताइन् ।
कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघ संस्था तथा भोट तथा बौद्ध धर्म अध्यनरत विद्यार्थीको उल्लेख्य उपस्थिति थियो ।
इच्छुक सबैका लागि यो प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बर २०२३ सम्म खुला रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया