सुन्तलाबारीमा जन्मिएका नेम्वाङ यसरी आएका हुन् कम्युनिस्ट राजनीतिमा

काठमाडौं । सुवास नेम्वाङको जन्म बिक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
नेम्वाङको मंगलबार बिहान करीव १ बजे हृदयघातका कारण काठमाडौंमा निधन भएको छ । बालुवाटारस्थित निवासमा स्वास्थ्यमा समस्या भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितेका छन् ।
नेम्वाङ २०६४ सालको संविधानसभा निर्वाचन र २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत समेत भएका थिए । ०७४ को संसदीय निर्वाचनमा इलाम २ बाट उनी निर्वाचित भएका थिए ।
पुस १० गते राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।
विद्यार्थीकालदेखि राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए ।
राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा (माले)मा संगठित भएका थिए ।
२०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।
२०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बनेपछि लामो समयसम्म उनी सोही भूमिकामा रहेका थिए ।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी गरेका थिए ।
२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य भएका हुन् । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ एमालेको उपाध्यक्षमा सर्वसम्मत भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया