कुँवर विदेश हिँडेपछि थापा कार्यबाहक आईजीपी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको नेतृत्वमा वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।

भदौ २५ देखि असोज ३ गतेसम्म दक्षिण कोरियामा सञ्चालन हुने कार्यशालामा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आईजीपी कुँवरका साथै प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री सम्मिलित रहेका छन् ।

कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल हुनेछ ।

साइबर अपराधविरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

Published : Monday, 2023 September 11, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया