कांग्रेसको नयाँ शैलीको कार्यक्रम, वीपीका बारेमा युवा पुस्ताले बुझ्न पायो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्री–दिवसीय ऐतिहासिक वीपी साहित्य महोत्सव २०८० को उद्घाटन गरेका छन् ।
पहिलो दिन आइतबार सभापति देउवाले वीपीको राजनीतिक चिन्तन नै नेपाली कांग्रेसको मार्गदर्शन भएको बताएका छन् ।
वीपीको बिचार कांग्रेसले मात्रै होइन नेपालका सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले समेत अनुकरण गरिरहेको बताए । उनले कांग्रेस आजसम्म वीपीकै बिचारको मार्गमा चलिरहेको बताएका छन् ।
देउवाले बागमती किनारमा रहेको वीपी पार्कमा रूद्राक्षकोे बृक्षारोपण समेत गरेका छन् । महोत्सवमा ११० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिटमाथि स्थायी रुपले रहने गरी वीपीको तस्वीर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अंकित बेलुन एक साथ उडाएर महोत्सवको उद्घाटन भएको कांग्रेसले जनाएको छ ।
सह–महामन्त्री तथा वीपी साहित्य महोत्सव २०८० का संयोजक बद्रीप्रसाद पाण्डेले गरेका छन् । पाँच वटा विभिन्न विधामा कार्यक्रम संचालन भएको छ । वीपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुवेदी वक्ताको रुपमा रहेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले १ घण्टा सहजीकरण गरेको वीपीका दृष्टिमा वीपी भन्ने शीर्षकमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सिके लाल वक्ताका रुपमा छलफलमा सहभागी भएका छन् । लाइभआर्ट विजय थापाले गरेका थिए ।
वीपीका आख्यानमा मनोविश्लेषणका विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्रतीक्षा वक्ताका रुपमा रहेका थिए । सहजीकरण दीपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले गरेका थिए ।
साहित्यमा पर्यावरण शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायमाझी वक्ताका रुपमा रहेका थिए । अर्चना थापाले सहजीकरण र किरण मानन्धरले लाइभआर्ट गरेका थिए ।
नेपालको मातृभाषा साहित्य शीर्षकमा बमकुमारी बुढा मगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रुपमा रहेका थिए । प्रकाश थाम्सुहाङले सहजीकरण र किरण सिगूले लाइभआर्ट गरेका छन् ।
कविहरूले कविता वाचन गरेका छन् । त्यसको सहजीकरण हेमप्रभासले गरेका छन् । विभिन्न सत्रहरूको बीचमा सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो ।
वीपी नगरमा बिहानैदेखि सहभागीको आगमनले खचाखच भरिएको थियो । सोमबार निर्धारित समयमा महोत्सवको कार्यक्रम शुरु हुनेछ । दोस्रो दिनको कार्यक्रममा व्यापक सहभागिताका लागि कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसले पहिलो पटक वीपीको जन्म जयन्ती मनाउने क्रममा फरक तरिकाले साहित्यिक कार्यक्रम गरेर मनाएको छ । सभापति देउवा र कार्यसमितिको यो कार्यले वीपी र कांग्रेसको बारेमा युवा पुस्ताले बुझ्न पाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया