डा.लामाद्वारा लुम्बिनीका कामचोर ठेकेदारहरूले काम पूरा नगरे सम्झौता रद्द गर्ने चेतावनी

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो डा.ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाको निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बुधबार लुम्बिनीको निरीक्षण तथा अनुगमनका क्रममा डा.लामाले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिएर एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । पूर्वअर्थराज्यमन्त्री समेत रहेका डा.लामाले लुम्बिनी विकास कोषको गुरुयोजनाको काममा निकै ढिलासुस्ती भएको अनुभव आफूले गरेको बताएका छन् ।

डा.लामाले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलन गरेर ठेकेदारहरूको लापरबाही र गतिविधिहरूका बारेमा सार्वजनिक गर्ने तयारी गरेका छन् । उपाध्यक्षमा नियुक्त गर्ने क्रममा विरोधीहरूले डा.लामाको आलोचना गरेका थिए । डा.लामाले लुम्बिनीको विकासमा आफूलाई केन्द्रित बनाएर आलोचकहरूलाई काम गरेर स्पष्टीकरण दिन लागेका छन् ।

लुम्बिनी विकास कोषको गुरुयोजना ४५ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । लुम्बिनीभित्रका काम अधुरा छन् । काम पनि निकै कम गुणस्तरको छ । उपाध्यक्ष डा.लामाले अब आफूले लुम्बिनीभित्रको निर्माणका कामहरूको अनुगमन आफूले नियमित गर्ने बताएका छन् ।

डा.लामाको अभिव्यक्ति र निर्देशनले काम चोर ठेकेदार र कोषका कर्मचारीको सातोपुत्लो उडेको छ । राजनीतिक पहुँचको भरमा ठेक्का लिएर वर्षौंसम्म काम नगरेर मोभिलाइजेशनको रकम खाने कार्यलाई उपाध्यक्ष डा.लामाले निरुत्साहित गर्ने तयारी गरेका छन् ।

कोषले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरेको छ । सम्झौताको करिब २ महिना बाँकी रहँदा पनि निर्माण कार्य आधा पनि हुन सकेको छैन ।

डा.लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्तापछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गरेका छन् ।

ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरूलाई फिल्डमा बोलाएर एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने डा.लामाले चेतावनी दिएका छन् ।

कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलगअलग ठेक्का सम्झौता गरेको थियो । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए ।

लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिलेसम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।

Published : Wednesday, 2023 September 6, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया