दश दिनपछि डा.कोइरालाको शव फेला, युवतीसँग अन्तिम पटक फोनमा कुराकानी

काठमाडौं । कोशी नदीको पुल छेउमा गाडी छाडेर बेपत्ता भएका डा.प्रज्वल कोइरालाको शव फेला परेको छ ।

मंगलबार डा.कोइरालाको १० दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डा.कोइरालाको शव बराहक्षेत्र नगरपालिका वडा–२ स्थित कोशीको भङ्गालोमा फेला परेको छ ।

कोशी नदीमा माछा मार्न गएका स्थानीयले नदीको सानो भङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका बुवा दीवाकर कोइरालासहित झापाको दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोली शवको पहिचान गरेको छ ।

मृतक कोइरालाको शव परीक्षणका लागि मंगलबार नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

झापाको दमक नगरपालिका– १ घर भएका डा.कोइराला मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत थिए ।

भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी डा.कोइराला बेपत्ता भएका थिए । खोजीका क्रममा उनी चढ्ने गाडी सुनसरी र उदयपुरको सिमानाको कोशी पुलमा भेटिएको थियो । गाडीमा मोबाइल र पर्स भेटिएको थियो ।

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा डा.कोइरालाले १ जना युवतीसँग संवाद गरेका थिए । ती युवती डा.कोइरालाकी प्रेमिका भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

दमकको लाइफ लाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय डा.कोइराला बाबु–आमाका एक मात्र छोरा हुन् ।

Published : Wednesday, 2023 September 6, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया