कांग्रेसका रोज राणाले हराएका रिजाललाई अध्यक्ष बनाउन ओलीको हस्तक्षेप, महसुर बनेर आए कँडेल
काठमाडौं । एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा अध्यक्ष खड्गप्रसाद ओलीले सिधै हस्तक्षेप गरेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढेपछि ओलीको आदेशमा सबै निर्वाचनका कार्यक्रम स्थगित भएका छन् ।
ओलीले सर्वसम्मत अध्यक्षसहितको कार्यसमिति चयन गर्न ठाडो आदेश दिएका थिए । ओलीको आदेशलाई अध्यक्षका दुई प्रत्याशी हरि रिजाल र राधाकृष्ण कँडेलले उल्लंघन गरेका छन् । रिजाल र कँडेलले ओलीको आदेशलाई घुमाउरो भाषामा अस्वीकार गरिदिएका छन् ।
एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास असफल भएको छ । अध्यक्ष पदका लागि रिजाल र कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पाका कँडेल एमालेको लुम्बिनी कार्यसमितिका वर्तमान अध्यक्ष हुन् । कँडेललाई विष्णु पौडेलको समर्थन छ ।
प्यूठानका रिजाल एमालेको केन्द्रीय सदस्य हुन् । रिजाललाई प्यूठान जिल्लामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति रोज राणाले प्रदेश सभाको निर्वाचनमा नराम्रोसँग हराइदिएका थिए । रिजाललाई महासचिव शंकर पोखरेलको समर्थन छ ।
अध्यक्षमा उठेका रिजालको उम्मेदवारीमा प्यूठान एमालेका अध्यक्ष विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक छन् । रिजाललाई अध्यक्ष बनाउन ओलीको दवाव छ ।
कँडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक छन् । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र बाँकेका पुजन विश्वकर्माको उमेदवारी परेको छ ।
१ हजार ४ जना प्रतिनिधिहरूको नाम सार्वजनिक गरी दाबी–विरोधका लागि आह्वान गरिए पनि थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको संख्या तथा पद बारे टुंगो नलागेपछि आइतबार दिनभर निर्वाचन कमिटी अलमल थियो ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १ हजार ४ प्रतिनिधिहरू सहभागी छन् ।
यसैबीच प्रथम अधिवेशनअन्तर्गत निर्वाचनका सबै प्रक्रिया रोकिएका छन् । उम्मेदवारी मनोनयन चलिरहेका बेला निर्वाचन कमिटीले साँझ साढे ८ बजेदेखि निर्वाचनमा उम्मेदवारी प्रक्रिया स्थगित गरेको छ ।
सोमबार बिहान १० बजेसम्मका लागि उम्मेदवारी दर्ता लगायत निर्वाचनका सबै प्रक्रिया स्थगित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए । ओलीको निर्देशनपछि निर्वाचनका कार्यक्रम स्थगित भएका हुन् ।
अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।
निर्वाचन कमिटीले साँझ ५ देखि ९ बजेसम्म उम्मेदवारी मनोनयन प्रक्रिया घोषणा गरेको थियो । साढे ८ बजे अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि प्रक्रिया रोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया