सशस्त्र प्रहरीमाथि मध्यराति आक्रमण, तीन जना घाइते

काठमाडौं । तस्करीको सामान बरामदपछि भएको बाँके जिल्लामा भएको झडपमा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते भएका छन् ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १६ चौलिका चोकबाट बिहीबार राति साढे ९ बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।

हार्डवयरका सामानको पूरा भन्सार तिरेको नपाएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

भन्सार छलिका सामान फिर्ता पाउनुपर्छ भन्ने व्यक्ति र स्थानीयबासिन्दा करीब १ सयदेखि १२० जना भेला जम्मा भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरूलाई सम्झाई बुझाई गरेपश्चात फिर्ता भएका थिए ।

सामान ल्याउने व्यक्तिहरू पुन: रातिको साढे १० बजे सो स्थानमा आई ड्युटीमा रहेको सशस्त्र प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका छन् ।

ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

ती व्यक्तिहरूले प्रहार गरेको ढुंगा लागेर ना १ झ. ५७४ नम्वरको गाडीमा क्षति पुग्नुको साथै केही अस्वभावका साधनहरूमा क्षति पुगेको छ ।

सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।

Published : Friday, 2023 September 1, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया