पाल्पामा स्कारपियो गाडी पुरियो, हवल्दारसहित ३ को मृत्यु, को–को भए घाइते ?

काठमाडौं । पाल्पा जिल्लामा पहिरोमा परेर स्कारपियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान सवा ८ बजे पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. २ स्थित पाल्पा–गुल्मी पक्की सडकखण्डमा लु १ ज ४६०० नम्बरको जीप पुरिँदा ३ जनाको मृत्यु भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।

गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका वडा नं. ११ कुरुङखोला निवासी यमबहादुर बोहराको मृत्यु भएको छ । ३६ वर्षीय बोहरा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सहायक हवल्दार पदमा कार्यरत थिए ।

गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ भुजेलखर्कका ५० वर्षीया मनकला चुदारा र कास्कीको पोखरा उप–महानगरपालिका वडा नं. २४ हेम्जा निवास वर्ष ३० का विनोद तिमिल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

जीपका चालक रेसुङगा नगरपालिका वडा नं. ८ खानीगाउँ निवासी ३६ वर्षीय बालकृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा रेसुङ ८ की ४० वर्षीया शोभा घर्ती मगर, ३७ वर्षीय सुष्मा राना, ६ वर्षीया सुरबी राना, ५ महिनाकी सुबिया राना, ४५ वर्षीय टेकबहादुर जि.एम., २७ वर्षीया स्वीकृति थापा, ५ वर्षीय सुरेन थापा रहेका छन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार भइरहेको छ ।

Published : Wednesday, 2023 August 30, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया