चीनले एमालेका ठूला नेताहरूलाई बोलायो, कसले दिन्छ पैसा ?

काठमाडौं । चीनले एमालेका महासचिव शंकर पोखरेललाई भ्रमणका लागि बोलाएको छ ।

चीनको निम्तोमा महासचिव पोखरेल एमालेका केही नेताहरूलाई लिएर त्यसतर्फ प्रस्थान गर्न लागेका छन् । पोखरेल भदौ १६ गते शनिबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमालेका महासचिव पोखरेलसहितका नेताहरूलाई बोलाएको एमालेले जनाएको छ ।

ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरूले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

एमालेका महासचिव पोखरेल चीनसँग निकै निकट मानिन्छन् । पोखरेलले आफ्नी छोरीलाई चीनमा पढाउँदै आएका छन् । चीन र पोखरेलबीच राम्रो सम्बन्ध भएका कारण चीनले पोखरेलकी छोरीलाई छात्रवृत्तिमा पढाइदिएको चर्चा एमालेभित्र छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चीनको भ्रमणमा जानेछन् । असोजको ५ देखि ७ गतेसम्म दाहालले चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

कम्युनिस्ट विश्लेषकहरूले नेपालका कम्युनिस्टहरूलाई पुन: मिलाउन गराउने वा कम्युनिस्ट गठबन्धन बनाइदिने विषयमा एमालेका महासचिव पोखरेलसहितका नेतालाई बोलाएको चर्चा छ ।

एमालेका नेताहरूलाई चीनले बोलाएको छ । एमालेका नेताहरूको सम्पूर्ण खर्च चीनले नै व्यहोरिदिने स्रोतले जनाएको छ ।

Published : Tuesday, 2023 August 29, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया