मुठभेडको संघारमा पुग्यो धरान, सम्भावित हिंसा रोक्न निषेधाज्ञा जारी

काठमाडौं । केही अराजक तत्वले गाई काटेर सामूहिक भोज गरेको विरोधमा शनिबार हिन्दु धर्मालम्बीहरूले प्रदर्शनको कार्यक्रम राखेपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
धरानमा गाई र गोरु काटेर खाएको तथा मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेका छन् ।
शुक्रबार मध्यराति १२ बजेदेखि शनिबार मध्यराति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् ।
धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका छन् ।
हिन्दु धर्मालम्बीहरूले गाई र गोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शनको आह्वान गरेका छन् ।
हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका कथित पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेका छन् । कथित पहिचानवादी र हिन्दु धर्मालम्बीहरूबीच सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
धरानमा सामाजिक सदभाव भडकन नदिन शनिबार गर्ने भनिएको प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।
उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सद्भाव भड्काउने जो कोहीलाई पनि पक्राउ गरी कारबाही गर्ने बताइन् ।
धरान प्रवेश गर्ने सुनसरीको तरहारा, चतरा, नडाहा, धनकुटाको भेडेटार र मोरङको केराबारी हुँदै धरान प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताएका छन् ।
धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सो अवधिमा अत्यावस्यक कामबाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला जम्मा/ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आदेशमा भनिएको छ ।
‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०/०५/०८ गते राति १२ बजेदेखि मिति २०८०/०५/०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, न्याली/भेलाजम्मा/ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, आदेशमा भनिएको छ ।
‘यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ’, आदेशमा भनिएको छ ।
धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघ/संस्थाले शनिबार शान्ति र्याली निकाल्ने तयारी गरेका छन् ।
मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरे पनि हिन्दु धमालम्बीहरूले प्रदर्शन गर्ने जनाएका छन् ।
राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले निषेधज्ञा उल्लंघन गर्ने नीति नरहेको बताए ।
‘विभिन्न स्थानबाट र्यालीमा सहभागी हुन आउनुभएकाहरू जहाँ प्रहरीले रोक्छ, त्यहीँ बसेर आआफ्नो ब्यानर प्रदर्शन गर्नुहुन्छ । प्रहरीसँग मुठभेड गर्ने हाम्रो नीति छैन’, उनले भने ।
शान्तिपूर्णरुपमा आयोजना गर्न लागिएको कार्यक्रमलाई रोक्न खोज्नु प्रजातान्त्रिक नभएको उनको टिप्प्णी छ ।
‘हामी सामाजिक कायम गर्ने सन्देश लिएर जाँदैछौं नकि विथोल्नका लागि । हाम्रो भनाइ यति मात्रै हो कि हिन्दू धर्माबलम्बिको आस्थामाथि चोट पुग्ने कुनै पनि गतिविधि नहोस । यस्तो गतिविधि गर्नेमाथि कानून बमोजिम कारवाही होस्’, उनले भने ।
धरान उप–महानगरपालिकाको नगरप्रमुखमा हर्कराज राईले जितेर आएपछि शान्ति सुरक्षामा असर परिरहेको छ । राईले क्रिश्चिय धर्मप्रति आकर्षण देखाएर अनुमति नै नदिएर चर्चा बनाउने दिने, कथित पहिचावादीलाई बचाउ गर्ने लगायतका अराजक हर्कत गरेपछि धरान अशान्त बन्न पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया