‘अराजक’ भीम उपाध्यायविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । फेसबुकमार्फत व्यक्तिगत मानहानी र चरित्रहत्या गरेको अभियोगमा चितवनकी पूर्णिमाया गुरुङले पूर्वसचिव भीम उपाध्यायविरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

गुरुङले बिहीबार चितवन प्रहरीमा उपाध्यायविरुद्ध कारबाहीको माग गरेर उजुरी दर्ता गराएकी हुन् ।

करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडियोलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, शरणपुरकी गुरुङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।

वास्तविकता के हो भन्ने नै नबुझी अनधिकृतरुपमा सामाजिक सञ्जालमा तस्बिर राखेर व्यक्तिगत चरित्रहत्या भएको भन्दै गुरुङले उजुरी दिएकी छिन् ।

फेसबुक प्रयोगकर्तालाई तत्काल नियन्त्रणमा लिई कानूनी उपचार गराउन माग गर्दै प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गराएकी हुन् ।

भीम उपाध्याय (मनमौजी) नामक फेसबुकमार्फत पीडित महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरु खाने धराने’ भनेर पोस्ट भएको थियो ।

‘त्यतिबेला रमाइलो गर्नका लागि छोटो भिडियो बनाएर टिकटकमा राखेकी थिएँ’, पीडित गुरुङले भनेकी छिन्, ‘अहिले आएर त्यही भिडियोको स्क्रिन सर्ट गरेर मविरूद्ध गाली बेइज्जती भइरहेका छन् । यसले म र मेरो परिवारलाई मानसिक यातना दिएको छ ।’

भीम उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।

यसैबीच, उपाध्यायले गुरुङको चित्त दुखाएको भनेर माफी मागेका छन् । उनले गुरुङसँग कुराकानी भएको जनाएका छन् ।

पूर्वसचिव साइबर अपराधको प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनले फेसबुकमा जथाभावी लेख्ने गरेका छन् । उनका लेखाइ र पोस्टहरूले धेरै सर्वसाधारणको चरित्र हत्या भएका छन् ।

Published : Friday, 2023 August 25, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया