कोशीको सरकारबारे कांग्रेस नेता सिटौलाले दिए जबरजस्त संवैधानिक तर्क

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भोटबाट लिएको विश्वासको मत संवैधानिक भएको बताएका छन् ।
मंगलबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिटौलाले संविधानको धारा १८८ अनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत ४७ मतले गरी मुख्यमन्त्री थापाले विश्वास सिद्ध गरेको बताए ।
सभामुखले दल त्याग गरेको घोषणा गरेको हुन्छ तर सभामुख र उपसभामुख नभएको अवस्थामा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरी कांग्रेसबाट निर्वाचित प्रदेश सांसद भएकाले विश्वासको मतको पक्षमा भोट हाल्नु उनको संविधानप्रदत्त अधिकार भएको सिटौलाले बताए ।
उनले भने, ‘संविधानले हरेक पार्टीको ह्वीप मान्ने व्यवस्था गरेको र जसले ह्वीप उल्लंघन गर्छ उसलाई कारबाही हुने व्यवस्था छ ।’
उनले भने, ‘जो सभामुख हुन्छ उसले दल त्यागको घोषणा गरेको हुन्छ तर, अहिले सभामुख छैनन् । त्यसैले अहिले भएका सबै प्रदेश सांसदहरुका लागि पार्टीले जारी गरेको ह्वीप लागु हुन्छ । ह्वीप जारी भएपछि भोट हाल्न बाध्य भइहाल्छ नि र त्यो पनि संवैधानिक व्यवस्था नै हो ।’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको धारा १८८ अन्तर्गत विश्वासको मत लिएको र त्यसमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भने अनुसार सम्पूर्ण सदस्य संख्याको बहुमत ४७ प्राप्त गरेकाले विश्वासको मत प्राप्त भएको सिद्ध भइसकेको प्रति प्रश्न उठाउनु आवश्यक नभएको सिटौलाले बताए ।
संविधानको धारा १८६ मा सामान्य प्रस्तावहरूको विषयमा उपस्थित सदस्य संख्याको बहुमत भनेको र त्यसमा मात्रै मत बराबर भएको अवस्थामा सभाध्यक्षले निर्णायक मत दिने व्यवस्था भएको तर मुख्यमन्त्री थापाले धारा १८८ बमोजिम विश्वासको मत लिएकाले धारा १८६ लागू नहुने सिटौलाले बताएका छन् ।
मुख्यमन्त्री थापाले सोमबार सभाध्यक्ष मन्सुरीको मतले बहुमत पुर्याइ विश्वासको मत लिएकोलाई असंवैधानिक भन्दै चौतर्फी विरोध भइरहेको बेला सिटौलाले संवैधानिक भएको बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया